काठमाडौं असार २६ गते ।
ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा महिलातर्फ काठमाडौँ महानगरपालिका र बेथानचोक गाउँपालिका विजयी भएका छन् ।
जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा काठमाडौँ महानगरले ललितपुर महानगरलाई ३ -२ को सेटमा पराजित गरेको हो । काठमाडौँले १५ -२५, २५ -२३, १९ -२५, २५- २१, १५- ५ को सेटमा ललितपुरलाई पराजित गरेको हो ।
त्यस्तै अर्को भएको खेलमा बेथानचोक गाउँपालिकाले गौरीशंखर गाउँपालिकालाई ३- १ को सेटमा पराजित गरेको छ। बेथानचोकले २५ -२३, १२- २५, २५ -२२, २५ -१९ को सेटमा गौरीशंखरलाई पराजित गरेको हो ।
प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
