मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं असार २६ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोशाक प्रदान गरेको छ । विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोशाक वितरण गरिएको हो ।

कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाक वितरण गरियो ।

राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमबीच पोशाक वितरण गरे ।

उपाध्यक्ष श्रेष्ठले विशेष तयारी प्रशिक्षण सुरु गर्नु राम्रो काम भएको बताउदै अब खेलाडीले एसियन गेम्समा प्रमाणित गर्ने बेला आएको बताए । कार्यकारी सदस्य श्रेष्ठले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइन् ।

हाङझाव एसियाडकी कीर्तिमानी रजत विजेता करातेकी एरिका गुरुङले प्रशिक्षणले खेलाडीमा उर्जा थपेको बताउदै नयाँ आशा पनि पलाएको बताइन् । एरिकाले लामो अवधिको प्रशिक्षणले सजिलो महशुस भएको बताउदै एसियाली खेलकुदका लागि तयार रहेको बताइन् ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पारा तेक्वान्दो, पारा स्विमिङ, पारा एथलेटिक्स, पारा ब्याडमिन्टन र पारा पावरलिफ्टिङलाई यसअघि नै पोशाक वितरण गरिसकेको जानकारी गराए ।

जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्यसहित राखेपले २०८० साल माघ १५ गतेदेखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ