शारीरिक सुगठन टोलीको स्वागत

काठमाडौं असार २१ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई आइतबार स्वागत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा सांसद् रजनी श्रेष्ठ र राखेपका सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई स्वागत गरे।

सो अवसरमा सांसद् श्रेष्ठले पदक विजेताको नगद पुरस्कारका लागि राखेपले पहल गर्नु पर्ने बताउदै पदक विजेतालाई बधाई दिइन् ।

सदस्य–सचिव मेहताले खेलाडीले पदक जितेर राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको बताउदै खेलाडीलाई दिने सुविधा सम्बन्धमा संघसंग चाँडै छलफल गर्ने बताए । उनले कानून सम्वत हुने र श्रोत/साधनले भ्याएसम्म सबैको काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसअघि आइतबारै टोलीलाई सांसद् श्रेष्ठ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थसहितका पदाधिकारी, खेलाडी, प्रशिक्षक आफन्तलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमनस्थलमा स्वागत गरेका थिए । टोलीलाई विमानस्थलबाट नगरपरिक्रमा गराई राखेपमा ल्याएको थियो ।

असार १६ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको थियो ।

दोहोरो पदक जितेकी विनु जिटीले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितिन् । पुरुष ८० केजीमा सगेन्द्र सिंह र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण जिते । महिला एथलेटिक फिजिकमा सीता खत्री र महिला टिम च्याम्पियनसिपमा नेपालले रजत जितेको थियो । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए ।

पुरुष ८५ केजीमा सागर श्रेष्ठ तथा पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौं भए । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारी तथा निर्णायकमा जोनसन जोनछेन रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ