
काठमाडौँ, असार २० गते।
कोलम्बियाले घानामाथि संघर्षपूर्ण जित निकाल्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटीमा शनिबार सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै नकआउट चरणमा आफ्नो यात्रा निरन्तर राखेको हो।
कोलम्बियाको जितमा जोन एरियास नायक बने। उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो। प्रारम्भिक अग्रता लिएपछि कोलम्बियाले अनुशासित रक्षात्मक प्रदर्शन गर्दै घानालाई बराबरी गर्ने अवसर नदिई जित सुनिश्चित गर्यो।
यस जितसँगै कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको भेटलाई अन्तिम आठमा स्थान बनाउने रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ।
उता, यस खेलसँगै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ। अन्तिम १६ मा अर्जेन्टिना, अमेरिका, क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बियाले स्थान बनाएका छन्। अब यी टोलीहरू क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रनेछन्।