
काठमाडौँ, असार २० गते।
साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयसम्म लम्बिएको अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को खेल अन्तिम क्षणसम्म प्रतिस्पर्धात्मक बनेको थियो।
अर्जेन्टिनाले खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता जोगाएको अर्जेन्टिनालाई दोस्रो हाफको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै झट्का दिएका थिए। डुआर्टेको गोलसँगै खेल १–१ को बराबरीमा पुगेपछि निर्धारित ९० मिनेटमा कुनै टोलीले विजयी गोल निकाल्न सकेन।
अतिरिक्त समयको सुरुआतमै अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजले गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए। तर केप भर्डेले हार नमानी अतिरिक्त समयको १०१औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलको शानदार गोलमार्फत खेललाई फेरि २–२ को बराबरीमा ल्यायो।
खेल पेनाल्टी सुटआउटतर्फ अघि बढ्ने संकेत देखिएका बेला १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक सावित भयो। त्यसपछि बाँकी समयमा अर्जेन्टिनाले अग्रता जोगाउँदै ३–२ को कठिन जित निकाल्न सफल भयो।
यस जितसँगै साविक विजेता अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ भने केप भर्डेको ऐतिहासिक यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ।