नेपालमा पहिलोपटक प्रोफेसनल लेभलको PSA नेपाल सेटलाईट स्क्वास प्रतियोगिता हुँदै

काठमाडौँ, भदौ २ गते ।
नेपालमा पहिलोपटक प्रोफेसनल लेभलको अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल स्क्वास र्‍याकेट्स संघले राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिएर PSA Nepal Satellite Squash Tournament 2026 आयोजना गर्न लागेको हो।

प्रतियोगिता आगामी भदौ ६ देखि ९ गतेसम्म अर्थात् अगस्ट २२ देखि २५ तारिखसम्म ललितपुरको सातदोबाटोस्थित NSRA Squash Academy मा सञ्चालन हुनेछ। नेपालमा स्क्वास खेलको विकास, विस्तार तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ।

नेपालमा यसअघि राष्ट्रिय तथा विभिन्न स्तरका अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुँदै आए पनि Professional Squash Association (PSA) को प्रोफेसनल लेभलअन्तर्गतको प्रतियोगिता आयोजना हुन लागेको यो पहिलोपटक हो। त्यसैले प्रतियोगितालाई नेपाली स्क्वासको विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

संघका अनुसार प्रतियोगितामा नेपालसहित युनाइटेड किङ्डम (यूके), मलेसिया, बंगलादेश, श्रीलंका र भारतलगायत देशका खेलाडीको सहभागिता रहनेछ। विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै आफ्नो खेलस्तर परीक्षण गर्ने महत्वपूर्ण माध्यम बन्ने संघको विश्वास छ।

प्रतियोगितामा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन्। स्क्वासको निर्धारित ड्र प्रणालीअनुसार ८, १६ र ३२ खेलाडीको ड्र रहने व्यवस्था गरिएको संघले जनाएको छ। प्रतियोगितामा मोनार्ड ड्रअनुसार कुल ३५ खेल सञ्चालन हुनेछन्।

प्रतियोगिताका खेलहरू बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म तथा साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताको उद्घाटन भदौ ६ गते बिहान ९ः३० बजे हुनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम भदौ ९ गते साँझ ५ः३० बजे गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतियोगिताका विजेताले चार सय अमेरिकी डलर, उपविजेताले दुई सय अमेरिकी डलर, तेस्रो हुने खेलाडीले एक सय अमेरिकी डलर तथा चौथो हुने खेलाडीले ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यससँगै विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्रसमेत प्रदान गरिने संघले जनाएको छ।

संघले नेपालमा स्क्वास खेलप्रतिको आकर्षण बढ्दै गए पनि यसको पहुँच अझै सीमित रहेको जनाएको छ। हाल विशेषगरी पोखरा र ललितपुरमा स्क्वासका गतिविधि बढी केन्द्रित रहेको संघको भनाइ छ। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका पूर्वाधारमा स्क्वास कोर्ट निर्माण तथा प्रदेशस्तरमा समेत खेलको विस्तारका लागि पहल भइरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा स्क्वासको लोकप्रियता र महत्वसमेत बढ्दै गएको छ। सन् २०२८ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने ओलम्पिक खेलकुदमा स्क्वास समावेश हुने भएकाले नेपालमा पनि यस खेलको पूर्वाधार विकास, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको संघले जनाएको छ।

नेपाल स्क्वास र्‍याकेट्स संघले वार्षिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। यसै क्रममा पहिलोपटक PSA को प्रोफेसनल लेभलअन्तर्गतको प्रतियोगिता आयोजना गर्न लागिएको हो। संघका अनुसार प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक वातावरणसँग जोड्नुका साथै अन्तर्राष्ट्रिय र्‍याङ्किङतर्फ अघि बढ्ने अवसरसमेत सिर्जना गर्नेछ।

संघले स्क्वासलाई आम नेपालीमाझ थप परिचित गराउन प्रतियोगिताको प्रचार–प्रसारलाई समेत प्राथमिकता दिएको जनाएको छ। संघका अनुसार स्क्वासलाई ‘All Weather Game’ का रूपमा लिन सकिन्छ। कोर्टभित्र खेलिने भएकाले घाम, पानी, जाडो वा गर्मीका कारण खेल प्रभावित नहुने तथा छोटो समयमा प्रभावकारी शारीरिक सक्रियता प्राप्त गर्न सकिने भएकाले स्क्वासको महत्व बढ्दो छ।

नियमित रूपमा स्क्वास खेल्दा शरीरलाई सक्रिय राख्न, शारीरिक तन्दुरुस्ती कायम गर्न तथा व्यस्त जीवनशैलीबीच पनि प्रभावकारी व्यायाम गर्न सहयोग पुग्ने संघको भनाइ छ। करिब १५ मिनेट स्क्वास खेल्दा लामो समय हिँडडुल गरेसरह शारीरिक सक्रियता प्राप्त गर्न सकिने भएकाले युवा तथा व्यस्त जीवनशैली भएका व्यक्तिका लागि समेत यो उपयोगी खेल बन्न सक्ने संघले जनाएको छ।

टेनिस तथा ब्याडमिन्टनको तुलनामा स्क्वासको खेल शैली फरक र प्राविधिक रूपमा चुनौतीपूर्ण मानिन्छ। खेलमा कोर्टको भित्तासमेत खेलको महत्वपूर्ण हिस्सा हुने भएकाले बलको दिशा, गति, कोण तथा खेलका नियम बुझ्न निरन्तर अभ्यास आवश्यक हुन्छ। सुरुवाती चरणमा नयाँ खेलाडीलाई केही कठिनाइ भए पनि नियमित प्रशिक्षण र अभ्यासमार्फत खेलका आधारभूत प्रविधि सहज रूपमा सिक्न सकिने संघको भनाइ छ।

स्क्वासबारे सर्वसाधारणलाई जानकारी गराउने र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले संघले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत छोटा भिडियो सामग्री निर्माण गरी प्रचार–प्रसार गर्ने कामसमेत गरिरहेको जनाएको छ। यसबाट स्क्वासप्रतिको जनचासो बढ्नुका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, संघले PSA Nepal Satellite Squash Individual Championship 2026 का लागि समेत तयारी अघि बढाएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिएर आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालसहित यूके, मलेसिया, बंगलादेश, श्रीलंका र भारतका १६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।

संघले नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्दै नेपालमा स्क्वासको व्यावसायिक तथा प्रतिस्पर्धात्मक विकासलाई निरन्तरता दिने जनाएको छ। यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीको अनुभव, आत्मविश्वास र खेलस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने संघको अपेक्षा छ।

प्रतियोगिताको सम्पूर्ण खर्च संघ आफैंले व्यवस्थापन गरिरहेको भए पनि प्रतियोगितालाई प्रभावकारी रूपमा सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगको अपेक्षा गरिएको संघले जनाएको छ। नेपाली स्क्वासलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सरकारी निकाय, खेल संघ, खेलाडी, प्रशिक्षक, सञ्चारमाध्यम तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको संघको जोड छ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको PSA Nepal Satellite Squash Tournament 2026 लाई नेपाली स्क्वासलाई प्रोफेसनल संरचनातर्फ अघि बढाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। विदेशी खेलाडीको सहभागिता र नेपाली खेलाडीको प्रत्यक्ष प्रतिस्पर्धाले घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेल अनुभव दिलाउनुका साथै उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत नेपालमा स्क्वासको दायरा विस्तार गर्दै आगामी दिनमा अझ बढी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने आधारसमेत तयार हुने विश्वास संघले व्यक्त गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ