राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहताले सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

नेपाल सोतोकान कराते संघको आयोजनामा संचालन हुने ६ राष्ट्र सम्मिलित उक्त प्रतियोगिताका औपचारिक खेलहरु भने शनिवारदेखि मात्रै सुरु हुनेछन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने कार्यक्रमको पहिलो दिन प्राविधिक सेमिनार सम्पन्न भएको छ। विश्व सोतोकान कराते महासङ्घका उप-मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गर्नुभएको थियो। नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका अवसरमा संघका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी नेपाल सोतोकान कराते सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।
