काठमाडौँ, असार १८ गते ।
जापानमा आयोजना हुने २०औं एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताका अनुसार प्रतियोगितामा करिब १४० नेपाली खेलाडी सहभागी हुँदै छन् ।
उनले एसियन गेम्समा दोहोरो अंक (डबल डिजिट) मा पदक जित्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै अब खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको बताए ।
उनका अनुसार सरकारले एसियन गेम्स तयारीका लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै प्रतियोगितामा सहभागिताका लागि थप ११ करोड २० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।
