काठमाडौँ, असार ११ गते ।
विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
‘… उल्लिखित गम्भीर परिस्थितिहरू, जुन फिफाको विधानको धारा १४ को उपधारा १(आई) र ३ अनुसार तेस्रो पक्षको अनुचित हस्तक्षेप मानिन्छन्, तथा धारा १६, १ अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदानबिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार, काउन्सिल ब्युरोले जुन २४, २०२६ मा एन्फालाई फिफाको विधानको घोर उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ,’ फिफाको पत्रमा भनिएको छ।
निलम्बन कायम रहुञ्जेल नेपालका राष्ट्रिय टोली, एन्फाका प्रतिनिधि तथा क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने फिफाले बताएको छ ।
