काठमाडौँ, असार १० गते ।
एनओसी अवार्ड २०२६ को सर्वश्रेष्ठ खेलाडी उसुका विजय सिंजाली र कराँतेकी एरिका गुरुङ घोषित भएका छन्। पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड हासिल गरेका हुन् ।
यसैगरी कराँतेकै कुशल श्रेष्ठ उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा उत्कृष्ट महिला प्रशिक्षक चुनिए । उत्कृष्ट युवा खेलाडी २०२६ बाट बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिभाली गुरुङ पुरस्कृत भए । बक्सर नुर्बु एनओसी सर्वश्रेष्ठ युवा पुरुष खेलाडी र शिवाली उत्कृष्ट महिला युवा खेलाडी घोषित भएका छन् ।
नेपाल कराँते महासंघ उत्कृष्ट संघ घोषित भयो । हरेक विधाका विजेता खेलाडीहरूले ५० हजार रुपैयाँ, ट्रफीसहित कार्पेट पुरस्कारस्वरुप प्राप्त गरे ।
यसैगरी एनओसी प्रेसिडेन्सिल अवार्डबाट अशोकरत्न वज्राचार्य, गीता राणा, चतुरानन्द राजवैद्य, नेपाल भूतपूर्व खेलाडी मञ्च, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, थन्डरबोल्ट स्पोर्ट्स एकेडेमी ९जेम्स स्कुल०, सुर्यलाल भण्डारी र लक्ष्मी श्रेष्ठ सम्मानित भए।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विजेताहरूलाई बधाई दिँदै हरेक वर्ष जुन २३ को दिन ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गर्दै आएको बताए ।
