काठमाडौं असार ५ गते ।
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा ३३ विद्यालयका ४८ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिमले भाग लिने भएका छन् ।
सिनियर ब्वाइजमा टीआईए, जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमी र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सागर शर्माले जानकारी दिए ।
पहिलो दिन सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल तथा जुनियर ब्वाइज र गल्र्समा क्वाटरफाइनल चरणसम्मका खेल सम्पन्न हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले बताए । दुईदिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, बसुन्धरास्थित आयोजकको कोर्टमा खेलाइने छ ।
