काठमाडौँ, असार ४ गते ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनले आयोजना गरेको ‘रामारोशन स्काई रनिङ २०२६’ प्रतियोगितामा ताप्लेजुङ का रमेश लिम्बू प्रथम भएका छन्।
बुधवार अछामको रामारोशनमा सम्पन्न रनिङ प्रतियोगितामा लिम्बुले २८ किलोमिटरको दूरी ३ घण्टा २८ मिनेट १५ सेकेन्ड मा पूरा गर्दै उपाधि जितेका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी जुम्लाका शोनम बहादुर रावत दोस्रो भएका छन्। उनले ३ घण्टा ३०मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेका हुन ।
त्यस्तै महिलाहरूको खुला विधातर्फ को खेलमा नेपाल आर्मीबाट सुनसरी रोकाया प्रथम भएकी छिन्। उनले ४ घण्टा ३२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै पहिलो भएकी हुन । त्यस्तै उनका प्रतिस्पर्धी खोटाङकी निर्मला राई दोस्रो भएकी छिन्। उनले ४ घण्टा ३४ मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै दोस्रा भएकी हुन् ।
स्थानीय युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २० वर्षमुनिका खेलाडीका लागि ५ किलोमिटर सामुदायिक दौडमा पुरुषतर्फ पञ्चदेवल विनायक नगरपालिकाका सुशील तिमिल्सिना पहिलो भएका छन्। उनी २४ मिनेटमा दुरी पार गर्दै पहिलो बनेका छन् । महिलातर्फ देबकी धामी पहिलो भएकी छिन्। उनले २९ मिनेट २७ सेकेन्डमा पार गर्दै पहिलो भएकी हुन ।
२८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसबाहेक दुवै विधाका शीर्ष १० स्थान हासिल गर्ने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, ५ किलोमिटर सामुदायिक दौडमा पुरुष तथा महिला दुवै विधाका उत्कृष्ट खेलाडीलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । सबै विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र रामारोशनमा सम्पन्न प्रतियोगितामा देश भरका विभिन्न ५७ जिल्लाबाट १५३ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।
करिब २ हजार १५० देखि ३ हजार ८३० मिटर उचाइ अन्तर समेटिएको उक्त चुनौतीपूर्ण मार्गमा धावकहरूको सुरक्षा तथा सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिएको थियो ।
