काठमाडौँ, जेठ ३१ गते ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुँदै आएको सूर्य नेपाल गल्फ टुरको यो सिजनको अन्तिम प्रतियोगिता हो । उक्त सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ कोर्समा हुनेछ ।
आयोजकले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै सिजनको अन्तिम प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ । कुल ७२ होलमा प्रतिष्पर्धा हुने प्रतियोगितामा ३६ होलपछि कट लागू गरिने आयोजकले जनाएको छ ।
कट पार गर्ने शीर्ष १८ व्यावसायिक र एमेच्योर गल्फरहरू (सोही स्कोर बनाउने) ले अन्तिम दुई चरणका लागि स्थान बनाउनेछन् । विजेताले तीन लाख २० हजार रुपैयाँ र उपविजेताले दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै तेस्रो, चौथो र पाँचौँ स्थानका खेलाडीहरूले क्रमशः एक लाख ६२ हजार, एक लाख ४५ हजार र एक लाख २८ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ भित्र रहने सबै खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
