दाङ, नेपाल – नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन वल्र्ड फेडेरेसन तथा ब्याडमिन्टन एसियाको सहयोगमा दाङमा ‘शटल टाइम’ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयस्तरमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम ६ देखि १५ वर्ष उमेरसमूहका बालबालिका लक्षित थियो ।
खेलकुदसँगै व्यक्तित्व विकास
कार्यक्रमको मुख्य ध्येय बालबालिकाहरूलाई ब्याडमिन्टन खेलसँग जोड्दै स्वस्थ जीवनशैली, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु रहेको छ। यसका साथै, तल्लो तहबाटै प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीका रूपमा तयार पार्ने संघको दीर्घकालीन योजना छ।
सहभागिता र प्रशिक्षण
दाङ जिल्लाका १८ वटा विद्यालयका ४० जना शारीरिक शिक्षा शिक्षक र ३८ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा राष्ट्रिय संयोजक छविलाल शाहीले प्रशिक्षण सहजीकरण गर्नुभएको थियो। सहभागी शिक्षकहरूलाई बीडब्लुएफबाट प्रमाणित शैक्षिक सामग्री तथा आधुनिक प्रशिक्षण विधिहरूबारे प्रशिक्षित गरिएको ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेले जनाएका छन् ।
दाङबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि संघले आगामी दिनमा देशका अन्य जिल्लाहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ ।
