काठमाडौँ, जेठ ३१ गते ।
नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता झापाको दमकस्थित होटेल कामाक्ष्यमा सुरु भएको छ।प्रदेश खेलकुद विकास बोर्ड,कोशी प्रदेश तथा झापा जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा प्रतिस्पर्धा ६ दिन सञ्चालन हुनेछ।
आइतबार पहिलो चरणमा मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फूयाँलले जीत प्राप्त गर्दै सुखद् सुरुआत गरेका छन् ।
ज्वाला इम्बुङ, सिएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै समान ०.५ अङ्क जोडेका छन्।
यस्तैगरी महिलातर्फ प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सुशिला गुरुङ, कृतिसारा अधिकारी तथा बिनिता कपालीले विजय हासिल गरेका छन्।
पुनम प्रसाईँ र प्रविशा दवाडीले बराबरी खेल्दै ०.५ अङ्क प्राप्त गरेका छन्। प्रतियोगिताका शीर्ष चार खेलाडी सहित वर्तमान राष्ट्रिय विजेता गरी दुवै विधाका पाँच पाँच खेलाडी आगामी सेप्टेम्बरमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि नेपाली टोलीको छनोट हुनेछन्।
वर्तमान नेपाल शीर्ष ३ तथा राष्ट्रिय बी वाट छनोट भएका शीर्ष ९ जना गरी १२ जना राष्ट्रिय खेलाडी बिच ११ चरणको एक आपसमा राउण्ड रोबिन खेल मार्फत वरियता निर्धारण हुने भएको छ।
सबै खेलाडीलाई यातायात खर्च, आवास तथा २ लाख नगद पुरस्कार व्यवस्था रहेको प्रतियोगिताको उद्घाटन सोमबार २ बजे हुनेछ ।
