आर्मी र एपीएफलाई २–२ स्वर्ण

काठमाडौँ, जेठ २५ गते ।

नेपाल आर्मी र एपीएफले प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा आइबार समान २–२ स्वर्ण जितेका छन् ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भएको प्रतियोगितामा पुरुष/महिलामा समान २–२ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा आर्मीले पुरुषमा २ तथा महिलामा एपीएफले २ स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुलामा आर्मीका अमित महर्जन तथा ५५ केजीमुनि भुपेन्द्रबहादुर ओलीले स्वर्ण जिते । महिला खुलामा एपीएफकी अनिशा तामाङ तथा ५० केजीमुनि एपीएफकी रिना माझीले पहिलो स्थान हात पारे ।

विजेतालाई राखेपका कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक महासंघका अध्यक्ष सूर्य बुढाथोकीले जनाएका छन् । चारै स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ