काठमाडौँ, जेठ २४ गते ।
नेपाल वादोरियो कराँते डो सङ्घको आयोजनामा भएको पाँचौँ राष्ट्रिय वादोरियो खुल्ला कराँते प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ।
आइतबार एक कार्यक्रमबिच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की, नेपाल वादोरियो कराँते डो सङ्घका केन्द्रीय अध्यक्ष हरिशरण केसी लगायतले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
प्रतियोगितामा देशभरबाट ९१ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागीमध्ये ४९ पुरुष र ४२ महिला खेलाडी रहेका छन्। प्रतियोगितामा कुल १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४०–४५ केजी, ४५–५० केजी, ५०–५५ केजी, ५५–६० केजी र ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ४०–४५ केजी, ४५–५० केजी, ५०–५५ केजी र ५५–६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई टिम च्याम्पियन ट्रफीसहित नगद पुरस्कार प्रदान गरिनेछ। साथै दोस्रो र तेस्रो हुने टोलीले पनि ट्रफी पाउने छन्। त्यस्तै पुरुष र महिलातर्फका उत्कृष्ट खेलाडी (बेस्ट फाइटर) लाई विशेष पुरस्कार र ट्रफी प्रदान गरिनेछ।
