काठमाडौं, जेठ १५ गते ।
नेपाल आर्मीका जयस्नु महर्जन र नेपाल प्रहरीकी प्राज्ना महर्जनले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । जुनियर यु–१९ अन्तर्गत सिंगल्सको ब्वाइजमा जयस्नु र गल्र्समा प्राज्नाले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा जयस्नुले बागमती प्रदेशका रिजन शाक्यलाई ११–७, ११–२ र ११–८ ले पराजित गरे । गण्डकी प्रदेशका समिर खत्री तथा एपीएफका निश्चल थापा तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा प्राज्नाले एपीएफकी क्यारिना सुवाललाई सीधा सेटमा ११–३, ११–५ र ११–८ ले हराइन् । कोशी प्रदेशकी सुलेखा ठाकुर र आर्मीकी सुरम्य शाक्य तेश्रो बने ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष÷महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो ।
पुरुषको फाइनलमा प्रहरीले बागमतीलाई ३–१ ले पाखा लगायो । प्रहरीबाट संयोग कपाली, एलेक्स महर्जन र गनञ्जय दाहालले प्रतिस्पर्धा गरेका थिए । एपीएफ र कोशी तेश्रो स्थानमा रहे ।
महिलाको फाइनलमा प्रहरीले कोशीलाई ३–१ ले पन्छायो । प्रहरीको टिमबाट नविता श्रेष्ठ, सुस्मिता खड्का र रविना महर्जनले खेलेका थिए ।
योसंगै ६ स्पर्धाको फाइनल सम्पन्न भएको छ । यसअघि क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजमा एपीएफका निश्चल थापा र गल्र्समा नेपाल आर्मीकी सुरम्य शाक्यले स्वर्ण जितेका थिए ।
