काठमाडौं, जेठ १५ गते ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि सुरु हुने भएको छ ।
शुक्रबार होटल स्मार्ट, धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रतियोगिताको मिति सार्वजनिक गर्नुका साथै ट्रफी अनावरण तथा मुख्य प्रायोजकसँग सम्झौता गरिएको हो ।
प्रतियोगिता जेठ १९ गतेदेखि २५ गतेसम्म तल्लो मूलपानी, माथिल्लो मूलपानी तथा त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा २४ वटा विद्यालयको सहभागिता रहनेछ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण राणाले जानकारी दिए।
प्रतियोगिताका सबै खेल टी–२० फम्र्याटमा सञ्चालन हुने टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले बताए। साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ तथा विधागत उत्कृष्ट खेलाडीलाई लकर रूमको तर्फबाट आकर्षक उपहार प्रदान गरिने उनले जानकारी दिए।
प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ सेन्टर रहेको छ भने सह–प्रायोजकमा ई–सेवा, एसोसिएट प्रायोजक लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्। सोही अवसरमा एसियन ई–लर्निङ सेन्टरका तर्फबाट निर्देशक मीना त्रिपाठी लिम्बु र काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। यस्तै, ई–सेवाकी ब्रान्ड तथा बजार व्यवस्थापन प्रमुख हाना गुरुङ र घलेबीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
प्रतियोगिताको समूह ‘ए’ मा डीएभी सुशील केडिया विश्व भारती स्कूल, नेक्सस इन्टरनेशनल एकेडेमी र रेडियन्ट रिडर्स स्कूल रहेका छन्। समूह ‘बी’ मा सैनिक आवासीय महाविद्यालय, त्रियोग उच्च माध्यमिक विद्यालय र क्रियटिभ एकेडेमी रहेका छन्।
यस्तै, समूह ‘सी’ मा ग्यालेक्सी पब्लिक स्कूल, हिमालयन ह्वाइट हाउस आईबी वल्र्ड स्कूल र केएमसी स्कूल रहेका छन् भने समूह ‘डी’ मा एन्जल्स हार्ट नेसनल स्कूल, ज्ञान मन्दिर सेकेन्डरी इङ्ग्लिस स्कूल र अपी स्कूल रहेका छन्।
समूह ‘ई’ मा मोक्षदा स्कूल, विज्डम इङ्ग्लिस एकेडेमी र क्लिन्टन स्कूल रहेका छन्। समूह ‘एफ’ मा रत्न राज्य माध्यमिक विद्यालय, अक्षरा स्कूल र संस्कृति इन्टरनेशनल स्कूल रहेका छन्।
त्यसैगरी, समूह ‘जी’ मा जेम्स स्कूल, अक्षारिका स्कूल र लिभरपुल सेकेन्डरी स्कूल रहेका छन् भने समूह ‘एच’ मा नेपाल पुलिस स्कूल, द सेलिब्रेसन सहशिक्षा विद्यालय र पिक पोइन्ट एकेडेमी रहेका छन्।
