काठमाडौं, जेठ १५ गते ।
साबिक विजेता नेपालका सदभाव आचार्य १२ औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिप को उपाधि जित्न सफल भएका छन्।
आज इभन-पार ७२ को स्कोर सहित समग्रमा ९-अन्डर २ सय ७ को नतिजामा भारतका भीभान उभायकारलाई ४ स्ट्रोकले हराउँदै उपाधि रक्षा गर्न सफल भएका हुन्। सदभाव टिम र व्यक्तिगततर्फ दुई स्वर्ण जित्न सफल रहे। गत संस्करण पनि उनले दुई स्वर्ण जितेका थिए।
आज २-अन्डर ७० बनाउँदै ५-अन्डर २ सय ११ सहित भारतका भीभान दोस्रो भए। नेपालका राहुल विश्वकर्मा समग्रमा ३-अन्डर २ सय १३ सहित तेस्रो भए। उनले आज १-ओभर ७३ खेले।
यस्तै के दानुसान, निखिल पाण्डे, निलोफर शिवमुर्ती, चनाका परेरा, डेचेन लेन्डुप, वाङ्छेन ढेन्डुप र तेन्जिङ्ग छिरिङले क्रमश चौथो देखि दशौं स्थानमा प्रतियोगिता सकाए।
सदभावले तेस्रो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन २-अन्डर ३४ खेले। यसपछि १० औं, ११ औं र १७ औं होलमा बोगी खेप्दा १५ औं होलको बर्डीले ब्याक नाइन २-ओभर ३८ मा सकाए।
भीभानले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। फ्रन्ट नाइन १-अन्डर ३५ खेले। बोगी रहित ब्याक नाइन खेलेका उनले १३ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३५ खेले।
राहुलले तेस्रो होलमा बर्डी प्रहार गरे। पहिलो र आठौं होलमा बोगी प्रहार गर्दा फ्रन्ट नाइन १-ओभर ३७ खेले। बाकी नौ होलमा पार जोगाएका उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए।
महिलातर्फ नेपालकी तारा कार्की चित्रकार समग्रमा २५-ओभर २ सय ४१ सहित सम्झना खत्रीलाई १४ स्ट्रोकले हराउँदै स्वर्ण जित्न सफल भइन्। आज ताराले १२-ओभर ८४ मा खेल सकाइन्।
समग्रमा २ सय ५५ स्कोर जोडेकी सम्झना रजत पदक प्राप्त गरिन्। उनले आज १२-ओभर ८४ को प्रदर्शन गरिन्। भारतकी नयोनिका कपुरले काउन्ट ब्याकमा २ सय ६० सहित कास्य हात पारिन्। उनले आज १३-ओभर ८५ मा खेल पुरा गरिन्।
यु-१७ तर्फ भारतका भीभान उभायकार समग्रमा ५-अन्डर २ सय ११ सहित भारतका निलोफर शिवमुर्तीलाई ७ स्ट्रोकले हराउँदै उपाधि जित्न सफल रहे। उनले आज २-अन्डर ७० को स्कोर बनाए।
१-अन्डर ७१ को स्कोर बनएका निलोफर समग्रमा २-ओभर २ सय १८ सहित दोस्रो भए। भारतका अर्का खेलाडी प्रिन्स बैंन्सला तेस्रो भए। समग्रमा १२-ओभर २ सय २८ खेलेका उनले आज ३-ओभर ७५ मा खेल पुरा गरे।
साबिक विजेता सदभाव आचार्य र राहुल विश्वकर्माको जोडीले १३-अन्डर २ सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधिको जिते। भारतको तरूण सरदेशाई एकेडेमी दोस्रो हुँदा श्रीलंका तेस्रो भयो।
प्रतियोगितामा नेपालले सर्वाधिक ३ स्वर्ण, १ रजत र १ कास्य सहित कुल ५ पदक हात पार्यो। भारतले १ स्वर्ण ३ रजर र २ कास्य सहित ६ पदक प्राप्त गर्दा श्रीलंकाले एउटा कास्य हात पार्यो। भुटान र बङ्गलादेश पदक बिहिन भए।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल र सदस्य चन्द्र टण्डनले पुरस्कार वितरण गरे।
५४ होलको तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बङ्गलादेश र भुटान गरी ५ दक्षिण एसियाली राष्ट्रका ५२ खेलाडीको सहभागिता रहेको थियो।
