काठमाडौँ, जेठ ९ गते ।
नेपाल विद्युत प्राधिकरण ‘बी’ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको क्वाटरफाइनलमा विद्युत ‘बी’ ले जनक शिक्षा सामाग्री केन्द्रलाई २–० गोलले पराजित ग¥यो । केयुकेएलले नेपाल बायु सेवा निगम ‘ए’ लाई २–० गोलले हरायो ।
अन्य क्वाटरफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल बैंक लिमिटेडलाई ३–० तथा कृषि विकास बैंकले विद्युत ‘ए’ लाई ४–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा कृषिको भेट केयुकेएलसंग हुनेछ भने विद्युत ‘बी’ ले नागरिक उड्डयनको सामना गर्ने छ ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको महिला फुटसलमा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । लुम्बिनी विकास बैंक र नेपाल वैंक लिमिटेड तथा ग्लोबल आईएमइ बैंक र कृषिबीच सेमिफाइनल हुनेछ । पुरुष÷महिला दुवैमा कृषि डिफेन्डिङ च्याम्पियन हुन् ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
कर्मचारी खेलकुदअन्तर्गत फुटसल अन्तिम प्रतियोगिता हो । विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल सम्पन्न भइसकेको छ ।
ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन् । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन् । बुद्धिचालमा निगमका दिपेन्द्र ठाकुर विजेता बने । सबै खेलका पदक विजेताले नगद पुरस्कार पाउने छन् । कुल पुरस्कार राशी २ लाख ७५ रुपैयाँ रहेको इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
