काठमाडौँ, जेठ ८ गते ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन्।
आज इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औं उपाधि हात पारे। उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद हात पारे।
एमेच्योर राहुल र प्रो दिनेशले आज समान ४–अन्डर ६४ सहित समग्रमा ९–अन्डर २ सय ६३ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। दोस्रो भएका दिनेशले ९० हजार जिते। शुक्र बहादुर राईले इभन–पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ८–अन्डर २ सय ६४ सहित चौथो भए। उनले ७० हजार प्राप्त गरे।
निरजले पनि इभन–पार ६८ खेल्दै समग्रमा ७–अन्डर २ सय ६५ को स्कोरमा पाँचौं हुँदा ५५ हजार नगद पुरस्कार पाए। १–ओभर ६९ खेल्दा समग्रमा ६–अन्डर २ सय ६६ सहित धन बहादुर थापा छैटौं भए। उनले ४६ हजार पाए।
समग्रमा ५–अन्डर २ सय ६७ सहित रामे मगर सातौं, समग्रमा ४–अन्डर २ सय ६८ सहित रवि खड्का आठौं, समग्रमा २–अन्डर २ सय ७० सहित भुवन कुमार रोक्का र समग्रमा १–अन्डर २ सय ७१ सहित एमेच्योर स्वप्निल भट्टराई दशौं भए। रामेले आज इभन–पार ६८, रविले २–अन्डर ६६, भुवनले १– अन्डर ६७ को कार्ड बनाए। उनीहरूले ३९ हजार, ३५ हजार र ३२ हजार प्राप्त गरे।
एमेच्योरतर्फ समग्रमा ९–अन्डर २ सय ६३ सहित राहुलले उपाधि जित्ने क्रममा स्वप्निललाई ८ स्ट्रोकले पछि पारे। स्वप्निल दोस्रो भए। आज १–अन्डर ६७ खेल्दै उनले समग्रमा १–अन्डर २ सय ७१ को स्कोर निकाले।
अन्तिम दिनको सुरूवात गर्दा भुवनसँग ३ स्ट्रोकको अग्रता रहेको थियो। यही अग्रतालाई जोगाउँदै च्याम्पियन हुने क्रममा उनले फ्रन्ट र ब्याक दुवै नाइन इभन–पार ३४ मा पुरा गरे। चौथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले नवौं होलमा डबल बोगी खेपे। यसपछि ब्याक नाइनको सबै होलमा पार जोगाए।
राहुलले चौथो र छैटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ खेले। यसपछि १० औं, ११ औं र १३ औं होलमा पनि बर्डी प्रहार गरे भने १५ औं होलमा एक सट खेर फाले। ब्याक नाइन पनि २–अन्डर ३४ मा सकाए।
दिनेशले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए। तेस्रो होलमा एक सट खेर फाले पनि चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १० औं र १६ औं होलमा पनि एक–एक सट बचाए।
प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।
सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको थियो। जहाँ उत्कृष्ट १८ प्रो गल्फरले नगद पुरस्कार प्राप्त गरे।
