टेबलटेनिसमा एभरेष्ट बैंक र वायु सेवा निगमलाई २ स्वर्ण

काठमाडौं जेठ ५ गते ।

एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा सोमबार समान २–२ स्वर्ण जितेका छन् । ५ स्पर्धा समावेश टेबलटेनिसमा बाँकी १ स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले जित्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा एभरेष्टका अच्यूतराज पोखरेल पहिलो, नेपाल बैंक लिमिटेडका ओमकुमार दोश्रो र निगमका विश्वास गौतम तेश्रो भए । सोही स्पर्धाको महिलामा निगमकी मेणुका चाम्लिङले स्वर्ण तथा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले रजत जिते ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा एभरेष्टका अच्यूत र सरल रेग्मी तथा नागरिक उड्डयनका सन्तोष अवाले र रुपचन्द्र केसीको जोडी क्रमशः पहिलो र दोश्रो स्थानमा रहे । उक्त स्पर्धाको महिलामा नागरिक उड्डयनका सरस्वती डुम्रे र सुष्मा थापाको जोडी पहिलो तथा नेपाल विद्युत प्राधिकरणका गीता घिमिरे र मिता आचार्यको जोडी दोश्रो बने ।

एक्जिक्युटिभ पुरुष सिंगल्समा निगमका प्रितमप्रसाद प्रधान प्रथम तथा नेपाल विद्युत प्राधिकरणका सुमन श्रेष्ठ द्वितीय भए । विभिन्न ५ स्पर्धामा ३९ प्रतियोगी सहभागी थिए ।

भृकुटिमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा भएको ६ स्पर्धा समावेश ब्याडमिन्टनमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

पुरुष सिंगल्समा विद्युत भक्तराज जोशी, कृषि विकास बैंकका टक्कर कुँवर, कृषिका राजकुमार निरौला र विद्युतका मंगेश तामाङ सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको महिलामा विद्युतका यामकुमारी गुरुङ र जुनु घर्ती, नागरिक उड्डयनकी सुस्मिता रावत तथा कृषिकी दीपिका राईले सेमिफाइनलमा स्थान पक्का गरे ।

एक्जिक्युटिभ पुरुष डबल्समा एनटीसीका सुजितआनन्द मल्ल र हरिकृष्ण शर्मा, विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठ, विद्युतकै बासु कोलोनी र लोकेन्द्र साउद तथा कृषिका रमेशकुमार अर्याल र सञ्जयराज श्रेष्ठको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

४५ वर्षमाथि पुरुष सिंगल्समा एनसेलका सुकान्त अधिकारी, कृषिका बसन्त थापा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रणबहादुर ऐरी र विद्युतका छवी भट्टराईले सेमिफाइनलमा स्थान बनाए । पुरुष डबल्समा विद्युतका विनोद अधिकारी र भक्तराज जोशी, कृषिका विजय जोजीजु र रमन राई, विद्युतका श्याम महर्जन र विष्णु मास्के तथा कृषिका टक्कर कुँवर र राजकुमार निरौलाले सेमिफाइनल यात्रा तय गरे ।

५० वर्षमाथि पुरुष डबल्समा एभरेष्टका दीपक महर्जन र सुमनराज श्रेष्ठ, जनक शिक्षा सामाग्री केन्द्र जितेन्द्र राजथला र रामविनय श्रेष्ठ, विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्के तथा कृषिका सञ्जयराज श्रेष्ठ र बसन्त थापाको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ब्याडमिन्टनमा ७४ प्रतिस्पर्धी सहभागी छन्।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताल एक कार्यक्रमबीच उद्घाटन गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले सम्बन्धित सबै क्षेत्रलाई समेटेर प्रतिष्ठानको दायरा फराकिलो बनाउन सके प्रतिष्ठानको गरिमा अझ उचो हुने धारणा व्यक्त गरे । प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिससहित फुटसल र बुद्धिचाल गरी ४ खेल समावेश छन् । प्रतियोगिता जेठ १० गतेसम्म चल्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ