काठमाडौँ, जेठ ५ गते ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
सदस्यहरूले महासंघमा आर्थिक अपारदर्शिता, कुशासन, खेलाडीका मागको बेवास्ता र विधान उल्लंघन भएको आरोप लगाउदै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
अध्यक्ष र महासचिवको मनोमानीका कारण नेपालमा चेस सीमित घेरामा खुम्चिएको, वैदेशिक प्रतियोगितामा छनोटमा मनोमानी भएको र महासंघ प्रशासनिक रूपमा समेत असफल भएको उनीहरूको दाबी छ।
महासंघको आफ्नै कार्यालय नभएको, नियमित अडिट नगरेको, वार्षिक नीति तथा कार्यक्रम साधारणसभाबाट पास नगराएको र कार्यसमितिका निर्णय कार्यान्वयन नभएको पनि उनीहरुले आरोप लगाएका छन्।
चार खेलाडीले यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएपछि छानबिन समिति गठन भएको उल्लेख गर्दै सदस्यहरूले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
