
काठमाडौँ, बैशाख ३० गते ।
एपीएफका पूर्व आइजी एवम पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी दुर्जकुमार राई वि.सं. २०१८ सालमा भोजपुरमा जन्मेका हुन् । उनका बुबा नेपाली सेनामा कार्यरत थिए भने आमा गृहिणी थिइन् । राई परिवारका एक्लो छोरा हुन भने उनका तीनजना दिदीबहीनी रहेका छन् । राईको बाल्यकाल भोजपुरमै बित्यो । उनले स्कुलदेखि कक्षा १२ सम्मको पढाइ भोजपुरमै सकाए । त्यसपछि उच्च शिक्षा पढ्न भने राई धरान झरे । धरान झरेका राईले महेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो अध्ययनलाई निरन्तरता दिए ।


राईका बुबा पनि सेनामा खेलाडी नै थिए । त्यसैले पनि उनमा खेलप्रति झुकाव बढ्नु स्वभाविकै थियो । उनका बुबाले बिहान ४ बजेदेखि उठाएर खेल खेलाउन लैजाने गर्दथे । उनले भोगटेको बल खेले, पुराना लुगाहरु मिलाएर बनाएको मोजाको बल खेले । राम्रो बल नहुँदा पनि राईले बल खेल्न छोडेनन् । राई अग्लो कदका थिए त्यसैले पनि उनका बुबाले भलिबल नै खेल्न लगाउँथे । रार्ई पनि भलिबल नै खेल्न मनपराउँथे । भोजपुरमा रहँदा उनले त्यति राम्रोसँग खेल्न पाएनन् । त्यो बेला भोजपुरमा खेलको त्यति विकास पनि भएको थिएन ।


स्नातक पढ्न धरान झरेका राईले त्यहिबेलादेखि आफ्नो खेलमा निखारता ल्याए । धरानमा स्नातक गर्दै गर्दा एकदिन कलेजमा जापानको तोसियो कीसोजी भन्ने गुरु पुगे । उनी त्यहाँ खेलाडी छान्दै पुगेका थिए। धरानको महेन्द्र क्याम्पसमा खेलाडी छान्दै पुगेका तोसियो कीसोजीको नजर दुर्जकुमार राईमा प¥यो । त्यस समयमा राई कलेजमा भलिबल खेलिरहेका थिए । त्यस दिनदेखि उनको खेल जीवनले ट्रनिङ प्वाइन्ट लियो । तोसियोले राईलाई भलिबल खेल्ने तालिम तीन वर्षसम्म दिए । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा तीन वर्ष राईले क्लोज क्याम्प बिताए । भलिबलमा आफू आउनु तोसियोकै देन रहेको राई बताउँछन् ।


तालिम लिएको ६ महिनामै राईको खेलमा सुधार हुँदै गयो । उनले गुरुले सिकाए अनुसार सिके पनि । उनी भलिबलको ओपन स्पाइकर हुन । सन १९८८ मा राईले पाकिस्तान नेसनल गेम खेले । सन १९८२ मा एसियन गेम खेल्न भारतको नयाँ दिल्ली गए । त्यसपछि भने उनले सबै नेसनल गेमहरुमा सहभागी भए ।


एसियन गेमबाट फर्केपछि राईलाई राष्ट्रिय खेलकुद परिषद्ले भलिबल सिकाउन भन्दै भोजपुर पठायो । भोजपुर पुगेका उनले १५ दिन मात्र त्यहाँका खेलाडीलाई भलिबल सिकाएका थिए । त्यसपछि परिषद्ले नै काठमाडौं बोलायो । सो समयमा जर्मनका गुरु माइकल ग्रीवरी नेपाल आएका थिए । उनले तीन महिना राईसहित ५ सय जनालाई कोच गरेका थिए । तर माइकलको नजरमा राई परे । उनलाई सँगै जर्मनी लिएर गए । जर्मनी गएका राईले त्यहाँको क्लबबाट भलिबल खेले । उनी नै नेपालको पहिलो भलिबल खेलाडी हुन जर्मन गएर व्यवसायिक भलिबल खेल्ने ।


भलिबल खेल्ने सिलसिलामा जर्मन पुगेका राईलाई लागेको थियो खेल्न सक्दिन की भन्ने तर उनलाई गुरुले हौसला दिए । जर्मनी पुगेका राई त्यहाँका खेलाडी देखेर भने छक्क परे । उनी भन्छन्, ‘त्यहाँको खेलाडी देखेर छक्क परेँ तर हिम्मत हारिन । क्लबले पैसा तिरेर ल्याएको मलाई, मैँले गेम जिताउनपर्छ भन्ने लाग्यो । हिम्मत नहारी खेलँे ।’ एउटा सिजन खेल्न गएका राई जर्मनी ६ महिना बसे । जर्मनीबाट फर्के उनी भलिबल खेल्न नै चाइना र जापान पुगे । नेपालबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरु खेलेका उनीले भलिबललाई विश्राम दिंदै प्रहरी सेवामा प्रवेश गरे ।


एमए पढ्दै थिए राई सोही समयमा शसस्त्र प्रहरीमा इन्पेन्टरमा जागिर खुल्यो । उनले पनि परीक्षा दिए, सफल भए त्यसपछि उनी सन १९८६ देखि देशको सेवामा लागे । सशस्त्र प्रहरीमा गएका राईलाई भलिबल संघले बोलाएको थियो तर उनी गएनन् निरन्तर देशकै सेवामा लागिरहे ।
