जेठ २३ गतेदेखि लाङटाङ ट्रेल

काठमाडौं, वैशाख १० गते ।

‘लाङटाङ ट्रेल रन’ को दोस्रो संस्करण आगामी जेठ २३ मा हुने भएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो।

साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो ट्रेल रन रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित क्याङ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुनेछ । दौड मार्ग स्याङ्गजिन गुम्बा, लाङटाङ गाउँ, घोडातबेला र लामा होटल हुँदै तय गरिएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै दोस्रोदेखि पाँचौं स्थानसम्म हुनेले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ । क्याङ्जिनबाट सहभागी हुने नेपाली खेलाडीका लागि १५०० तथा काठमाडौंबाट सहभागी हुनेलाई ५ हजार रुपैयाँ तोकिएको छ ।

विदेशी खेलाडीका लागि क्याङ्जिनमा ३५ अमेरिकी डलर तथा काठमाडौंमा १०० अमेरिकी डलर शुल्क तोकिएको छ । सार्क राष्ट्रका खेलाडीका लागि २५०० रुपैयाँ र ७५०० रुपैयाँ शुल्क हुनेछ ।

प्रतियोगिता बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको प्रमुख आर्थिक सहयोगमा तथा प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड तथा स्थानीय तहहरूको सहकार्यमा आयोजना हुन लागेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ