क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई गौरीशंकर सुपर लिगको उपाधि

काठमाडौं वैशाख ९ गते ।

गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर (सिईसी) काठमाडौंले हात पारेको छ।

बुधबार भएको फाइनल भिडन्तमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले पराजित गर्दै सिईसीले फाईनल जितेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको क्रिकेट एक्सीलेन्स सेन्टरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि दिनेश बोहराले आक्रामक ब्याटिङ गर्दै मात्र १० बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक २७ रन बनाए। त्यस्तै बुद्धिमान विष्टले १९ रन र कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिए।

बलिङतर्फ एन्जलस स्पोर्ट्स एकेडेमीका धिराज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए।

१०६ रनको मध्यम लक्ष्य पछ्याएको एन्जलस स्पोर्ट्स एकेडेमी सिईसी काठमाडौंका बलरहरूको कडा बलिङसामु टिक्न सकेन। १८.२ ओभरमा मात्र ६९ रन बनाउँदा टोली अलआउट भयो। एन्जलसका लागि विशाल ऐयरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

सिईसी काठमाडौंलाई जित दिलाउन ब्याटिङमा चम्किएका दिनेश बोहराले बलिङमा पनि घातक प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई अनिकेत सिंहले २ विकेट लिएर साथ दिए।

उपाधि विजेता सिईसी काठमाडौंका खेलाडीहरूलाई ट्रफी र मेडल प्रदान गरिएको थियो।उपाधि विजेताले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उप विजेताले एकचालीस हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सन्दीप साउदलाई ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरियो। फाइनलमा पराजित भए पनि सन्दीपको व्यक्तिगत प्रदर्शन तारिफयोग्य रह्यो। उनले ब्याट पुरस्कर प्राप्त गरे ।

फाइनलमा क्यानका सचिव पारस खड्का प्रमुख अतिथि थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा राखेप सदस्य जगत टमाटा,अतिथिमा समाजसेवी केदार खड्का र गौरीशंकर गाउँपालीकाकी उपाध्यक्ष उमा मगर शेर्पाको उपस्थिति रहेको थियो। प्रमुख अतिथि तथा अतिथिले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै युवा प्रतिभाहरूको हौसला बढाएका थिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ