१४ औं राष्ट्रिय रग्बी सेभेन्सको तयारी पूरा

काठमाडौँ, चैत २७ गते ।

यही चैत २८ र २९ गते हुने राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको टोलीले सहभागिता जनाउने छन्।

त्यस्तै महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका टिमहरू प्रतिस्पर्धामा रहनेछन् ।

च्याम्पियन महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट एक–एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

प्रतियोगिताको अनुमानित खर्च ३० लाख रुपैयाँ रहेको छ भने खेलाडीका लागि १ लाख २५ हजार बराबरको दुर्घटना बीमा गरिएको जनाइएको छ ।

प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट पनि गरिने संघले जनाएको छ । जापानमा हुने २०औं एसियाली खेलकुद र ताईवानमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट यसै प्रतियोगिताको आधारमा गरिने भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ