काठमाडौं चैत २३ गते।
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा १४औँ कान्तिपुर हाफ म्याराथन वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा चार विधा समावेश गरिएको आयोजकले जानकारी दिएको हो। मुख्य विधा २१.१ किलोमिटर हाफ म्याराथन हुनेछ। त्यस्तै कर्पोरेट तथा प्रभावशाली व्यक्तिहरूको दौड ५ किलोमिटर, एक्स्ट्रिम कलेज रन ७ किलोमिटर र ह्वीलचेयर दौड ३ किलोमिटर हुनेछ।
हाफ म्याराथनमा पुरुष तथा महिला दुवै तर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रोदेखि छैटौं स्थानसम्म रहने धावकले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी र मेडल पनि पाउनेछन्।
ह्वीलचेयर दौडतर्फ विजेताले ३५ हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। कर्पोरेट तथा कलेज दौडमा पुरुष र महिला दुवै तर्फ शीर्ष तीन स्थानमा रहनेलाई विभिन्न पुरस्कार तथा उपहार प्रदान गरिनेछ।
यो वर्षदेखि दौड पूरा गर्ने सबै सहभागीलाई मेडल प्रदान गरिने आयोजकले जनाएको छ। दौड तीनकुनेस्थित कान्तिपुर कार्यालय अगाडिबाट सुरु हुनेछ। हाफ म्याराथनको मार्ग तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाते चोकबाट फर्केर पुनः कोटेश्वर हुँदै तीनकुनेमा पुगेर टुंगिनेछ।
कर्पोरेट दौड तीनकुनेबाट सुरु भएर लोकन्थली पुलबाट फर्केर कोटेश्वर हुँदै तीनकुनेमा टुंगिनेछ। ह्वीलचेयर दौड तीनकुने कोटेश्वर तीनकुने मार्गमा हुनेछ। कलेज दौड भने तीनकुने,कोटेश्वर, गठ्ठाघर,कोटेश्वर हुँदै तीनकुनेमा समाप्त हुनेछ।
यस वर्षदेखि हाफ म्याराथनतर्फ प्रविधिको प्रयोग गरेर धावकले दौड पूरा गरेको सही समय (एक्युरेट टाइमिङ) मापन गरिने आयोजकले जनाएको छ।
तियोगितामा ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको छ भने एक्स्ट्रिम इनर्जी ड्रिंक सहयोगीका रूपमा रहेको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने हाफ म्याराथनमा केएफसी र पिजा हट सेलिब्रेसन, फ्रन्टलाइन अस्पताल तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड फुड पार्टनरका रूपमा रहेका छन्।
