काठमाडौँ,चैत २२ गते ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०बाट अखिल नेपाल फुटबल संघ ९एन्फा० निलम्बनमा परेपछि खेलाडीहरु आक्रोशित बनेका छन्।
एन्फा निलम्बनमा परेपछि अप्रिल १२ र १५ मा तय भएको फिफा सिरिज नेपाली महिला टोलीले गुमाएको छ। फिफा सिरिज गुमाएपछि महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सामाजिक सञ्जालमा पोखेको आक्रोश पोखेकी छिन्।
एन्जिलाले सामाजिक सञ्जालमार्फत राजनीतिको फोहोरी खेलका कारण अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर खोसिएको बताएकी हुन् ।
‘अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु एउटा खेलाडीको लागि एउटा पर्व जस्तै हो । एउटा सपनाको शिखर हो । तर जब अन्तिम समयमा आएर राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसिन्छ, तब त्यो पीडा कस्तो हुन्छ, के तपाईंहरूले कहिल्यै महसुस गर्नुभएको छ रु तपाईंहरू त केवल न्युज पढ्नुहुन्छ र अफसोस मान्नुहुन्छ, तर मैदानमा ओर्लिन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीलाई मात्र थाहा छ,’ उनले लेखेकी छन् ।
खेलाडीको १० वर्षको कडा मेहेनत स्वार्थ र राजनीतिका कारण १० मिनेटमै खरानी भएको एन्जिलाले बताइन् । व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले आज नेपाली महिला फुटबल र समग्र खेलाडीको भविष्य अन्धकारमा धकेलिएको उनको भनाइ छ ।
‘खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस् । हामी देशको लागि खेल्न चाहन्छौं, तपाईंहरूको अहङ्कारका लागि होइन। खेललाई खेल नै रहन दिनुस्, यसलाई राजनीतिको अखडा नबनाउनुस्,’ उनले लेखेकी छन् ।
एन्जिलासँगै महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलको पनि आक्रोश पोखेकी छिन्। उनले पनि सामाजिक सञ्जालमा लेखेकी छन्, “अन्तर्राष्ट्रिय खेल खेल्नु केवल अवसर होइन, यो एउटा खेलाडीको सपना, सम्मान र अस्तित्व हो । यो केवल एउटा प्रतियोगिता होइन, यो वर्षौंको मेहनत, त्याग र विश्वासको परिणाम हो । त्यसैले आज हामी आफैँलाई सोध्न बाध्य भएका छौँ, भोलि आउने खेलाडीहरूले के सिक्ने रु हामी मैदानमा सधैँ प्रतिस्पर्धा गर्न तयार थियौँ । हरेक दिन आफूलाई अझ राम्रो बनाउने प्रयास गर्यौँ । तर, आज खेल्न नपाउने अवस्थाले हामीलाई गहिरो रूपमा निराश र दुःखी बनाएको छ ।”
