काठमाडौँ, चैत ४ गते।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक एन्फा महिला लिगको खेलमा झापा फुटबल क्लबविरुद्ध ५–० को सहज जित निकालेको छ ।
च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० ले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आर्मीले आक्रामक खेल खेल्यो। खेलको ५६ औं मिनेटमा दीपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्।
त्यस्तै ६७ औं मिनेटमा हिमा चौधरी अग्रता दोब्बर बनाइन्। ८६ औं मिनेटमा दीपाको पासमा अञ्जना थुलुङ राईले सहज गोल गर्दै आर्मीलाई ३–० को सहज अवस्थामा पुर्याइन्।
निर्धारित खेलको अन्तिम मिनेटमा अञ्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को स्थिति पुर्याइन्। इन्जुरी समयमा तुलसा बोहोराले गोल गर्दै ५–० को एकतर्फी जित दिलाइन्।
लिगमा नौ टोलीको सहभागिता रहेको छ । जसमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट तथा बिच फुटबल, संकटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ ।
