काठमाडौँ, फागुन २९ गते।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा शनिबार ‘एसियन गेम्स फन रन’ हुने भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गर्न लागिएको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।
एनओसी भवन सातदोबाटोको प्रांगणबाट शुरू हुने फन रन बी एन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसी, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मंगलबजारमा पुगेर समापन हुने एनओसीले जनाएको छ ।
करिब तीन किलोमिटरको यस फन रन रुटमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पनि मिल्ने छ । सोही अनुरुप नै एनओसीले एसियाड फन रनको आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
फन रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कुटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी र विधार्थी गरी करीब एक हजारभन्दा बढीको सहभागिता रहनेछ ।
ओलम्पिकको भावना अनुरुप हुने यस परम्परालाई कायम राख्न नेपाल ओलम्पिक कमिटीले विगतका एशियन गेम्स अगाडि फन रनको आयोजना गर्दै आएको छ ।
