एन्फा र खेलाडी संघबीच सहमति, मुख्यालयमा लागेको ताला खुल्यो

काठमाडौँ, फागुन २६ गते ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएको छ । सहमति अनुसार ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा हुने भएको छ। 

एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले ए डिभिजन लिग हुने सहमति भएको जानकारी दिए। 

शाहले खेलाडी संघले राखेका मागहरूको अन्य बुँदामा पनि सहमतिमा पुगेको बताए। सहमति भएपछि आजै एन्फा मुख्यालयको ताला खोलिसकिएको छ ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए। यसअघि गर्छौं–गर्छौं भने पनि मिति नतोकिएकोले अन्ततः ताल्चा लगाउने स्थितिमा पनि पुगेको उनले बताए। 

छलफलमा दुवै पक्षका प्रतिनिधि सहभागी भएका थिए। खेलाडी संघतर्फबाट अध्यक्ष विक्रम लामा, खेलाडीहरू विकेश कुथु, रोहित चन्द, विराज महर्जन र अन्जन विष्ट सहभागी थिए।

एन्फातर्फबाट सचिवालय कार्यसमिति सदस्यहरू, महासचिव किरण राई, इन्द्रमान तुलाधार, रविन्द्र जोशी र प्रवक्ता सुरेश शाहलगायत उपस्थित थिए।

खेलाडी संघले विभिन्न मागहरू राखेर आइतबार एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ