काठमाडौं, माघ २७ गते ।
प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।
एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व २ ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् ।
सोही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकार समेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
त्यसै अवसरमा बुद्धवीर लामाले जुम्लाका एथलेटिक्स खेलाडीका लागि खेल पोशाक पनि रोकायालाई हस्तान्तरण गरेका थिए ।
