
काठमाडौं, माघ १२ गते ।
अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार काठमाडौंको सिनामंगलस्थित एक होटलमा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक विशेष कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै सदस्य–सचिव मेहताले कबड्डी खेल नेपालमा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै संघले खेलको विकास र विस्तारका लागि गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा कबड्डी खेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा संघले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा संघका अध्यक्ष, पदाधिकारी, प्रदेश संघका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा महासचिव अरविन्दकुमार झाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमाथि छलफल गरिएको थियो । सभाले महासचिवको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको संघले जनाएको छ ।
त्यसैगरी, साधारण सभाले संघको विधान संशोधन प्रस्ताव तथा कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । आर्थिक प्रतिवेदनअनुसार संघले विगत वर्षमा सञ्चालन गरेका राष्ट्रिय प्रतियोगिता, प्रशिक्षण कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहभागिताका खर्च विवरण प्रस्तुत गरिएको थियो ।
साधारण सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४ करोड ६० लाख रुपैयाँको बजेट पनि पारित गरेको छ । महासचिव झाले उक्त बजेट कबड्डी खेलाडीको क्षमता विकास, राष्ट्रिय प्रतियोगिता सञ्चालन, प्रशिक्षक तथा रेफ्री उत्पादन, साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि खर्च गरिने जानकारी दिनुभयो ।
सभामा संघका अध्यक्षले कबड्डी खेललाई विद्यालय तहदेखि नै विस्तार गर्ने योजनाबारे जानकारी गराउँदै युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले प्रदेश तथा जिल्ला स्तरमा नियमित प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनमा जोड दिइने उल्लेख गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्षले साधारण सभामा सहभागी सबै प्रतिनिधि तथा पाहुनाहरूलाई धन्यवाद व्यक्त गर्दै कबड्डी खेलको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
अखिल नेपाल कबड्डी संघले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नेपाली टोलीलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित रणनीतिक योजना अघि बढाउने जनाएको छ ।