
काठमाडौँ, माघ १२ गते ।
नेपाल महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको समूहचरणबाटै बाहिरिएको छ । नेपाललाई सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा स्कटल्यान्डले ७२ रनले पराजित गर्यो ।
१ सय ४१ रनको लक्ष्य लिएर आएको नेपाल जित्नै पर्ने खेलमा १३.५ ओभरमा ९ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो । ब्याटिङका क्रममा ५ रन बनाउँदा घाइते भएर क्रिज छाडेकी कप्तान इन्दु बर्मा पुनः ब्याटिङमा आइनन् ।
नेपालले ४ खेलमा १ खेलमा मात्र विजय हात पार्यो । नेदरल्यान्ड र स्कटल्यान्ड ६–६ अंक तथा थाइल्यान्ड ४ अंकसहित समूह ‘बी’ बाट सुपर सिक्समा प्रवेश गरेका छन् । जिम्बाब्वे भने सबै चार खेलमा पराजित भयो ।
नेपालबाट सम्झना खड्का ७, बिन्दु रावल १४, पूजा महतो २, कविता जोशी ६, सीता रानामगर २, रुविना क्षेत्री १०, कविता कुँवर शून्य, रिया शर्मा १ र मनीषा उपाध्याय २ रनमा आउट भइन् । रोमा थापाले ११ बल खेल्दै समान १ चौका र १ छक्का प्रहार गरी आउट भइन् ।
स्कटल्यान्डबाट अब्ताहा मक्सुदले ३ विकेट लिइन् । उनले ४ ओभरमा १४ रन खर्चेकी थिइन् । क्याथ्रिन ब्रिसले २.५ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् भने राचेल स्लेटर र ओलिभिया बेलले १–१ विकेट लिइन् ।
यसअघि देब्रे हाते स्पिनर मनीषाले सनसनी बलिङ गरेपछि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्ड सोमबार निर्धारित २० ओभर खेल्दै १ सय ४० रनमा अलआउट भएको हो ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेकी मनीषाले निकै उत्कृष्ट सुरुआत गरिन् । खेलको दोस्रो बलमै उनले क्याथ्रिन फ्रेजरलाई बोल्ड गर्दै नेपाललाई स्वर्णिम सुरुआत दिलाइन् ।
दुई बलपछि मनीषाले अर्की ओपनर डार्सी कार्टरलाई १ रनमा आउट गरिन् । आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा उनले क्याथ्रिन ब्रिसलाई ८ रनमा आउट गरिन् । खेलको दशौँ तथा आफ्नो अन्तिम ओभरमा मनीषाले एलिसा लिस्टरलाई २२ रनमा आउट गरिन् ।
मनीषाले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् । उनले अन्तिम २ बलमा लगातार विकेट लिएकी थिइन् । सीता रानामगरले ४ ओभरमा १८, कविता जोशीले २ ओभरमा १७ र रिया शर्माले ४ ओभरमा ४१ रन खर्चेर १–१ विकेट लिइन् ।
लिस्टरले २२ रन बनाइन् । उनले २४ बल खेल्दै ४ चौका प्रहार गरिन् । प्रियान्ज चटर्जीले स्कटल्यान्डका तर्फबाट सर्वाधिक ४५ रन बनाउँदै अविजित रहिन् । उनले २८ बल खेल्दै ७ चौका प्रहार गरिन् । मेगान म्याकोलले १४ बल खेल्दै २ चौका प्रहार गरी १७ रन बनाइन् ।