
काठमाडौँ, माघ ७ गते ।
नेपालले थाइल्यान्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिप पाकिस्तानमाथि फराकिलो जित निकालेको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो । नेपालको जितमा मनिषा थापा मगरले दुई तथा रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले एक एक गोल गरे ।
जितसँगै पाँच खेलबाट सात अङ्क बनाएको नेपाल तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको पनि समान खेलबाट सात नै अङ्क छ । यसअघि नेपाल श्रीलङ्कासँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।
नेपालले अर्को खेलमा माल्दिभ्समाथि ५–० गोलको जित निकालेको थियो । यस्तै नेपाल भारतसँग ८–१ र बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालले अब भुटानसँग खेल्न बाँकी रहेको छ ।