सीईसी भक्तपुरको सशक्त प्रदर्शन, भक्तपुर निस्टलाई ६ विकेटले पराजित

काठमाडौं, माघ ७ गते ।

राइजिङ स्टारको आयोजनामा सञ्चालित राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा सीईसी भक्तपुरले उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुर निस्टलाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको सीईसी भक्तपुरविरुद्ध ब्याटिङ गरेको भक्तपुर निस्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रनको मध्यम लक्ष्य प्रस्तुत गर्‍यो। निस्टका लागि अभियान झाले २३ बलमा २१ रन बनाएर सर्वाधिक रन जोड्दा साइमन सिंह कावेले ३५ बलमा १८ रन तथा पाउल सुवेदीले २४ बलमा १४ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानहरू ठूलो स्कोर बनाउन असफल हुँदा टोली दबाबमा परेको थियो।

बलिङतर्फ सीईसी भक्तपुरका आकाश यादवले किफायती तथा प्रभावशाली बलिङ गर्दै ३ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट लिए। त्यस्तै आशुतोष तामाङले २ विकेट हात पार्दा शक्रिया आचार्यले १ विकेट लिएर विपक्षीलाई ठूलो स्कोर बनाउनबाट रोके।

८८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको सीईसी भक्तपुरले १३.२ ओभरमै ४ विकेट गुमाएर ९१ रन बनाउँदै सहज जित दर्ता गर्‍यो। टोलीका लागि अनुरक्षित ठगुन्नाले अविजित ३५ रनको शानदार इनिङ खेल्दै जित सुनिश्चित गरे। उनलाई कृसब निरौलाले ९ बलमा १३ रन र ब्रायन गैडाले १३ बलमा ९ रन जोड्दै राम्रो साथ दिए।

भक्तपुर निस्टका बलरमध्ये कुशाग्र विक्रम केसीले २ विकेट तथा पाउल सुवेदीले १ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

उत्कृष्ट प्रदर्शनका आधारमा सीईसी भक्तपुरका अनुरक्षित ठगुन्ना ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा सहभागी टिम तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ३०,००० तथा उपविजेताले रु. २०,००० प्राप्त गर्नेछ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट र उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ