
काठमाडौं,माघ ४ गते ।
आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले पराजय व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हात पारेको थियो । खेलको अन्तिम क्षणमा २ रन आवश्यक रहेका बेला थाइल्यान्डले विजयी चौका प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
थाइल्यान्डको जितमा नथाकन चन्थमले उत्कृष्ट प्रदर्शन गरिन् । उनले अविजित ५७ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जितसम्म पुर्याइन् । उनलाई नानपत कोन्चारोन्काईले ३२ रन र अफिसरा सुवानचोनराथीले २८ रन बनाएर राम्रो साथ दिए । नेपालका लागि बलिङतर्फ सीता रानामगरले २ विकेट लिइन् भने अन्य बलरले प्रभाव जमाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन मात्र जोड्न सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । त्यस्तै, सम्झना खड्काले ११ बलमा आक्रामक २६ रन बनाउँदै खेललाई गति दिने प्रयास गरिन् । कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् । तर अन्य ब्याटरहरू लामो समय टिक्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सकेन ।
थाइल्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । थिपात्चा पुथावङवले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिँदै नेपालको ब्याटिङ लाइनअप धराशायी बनाइन् । ओनिचा काम्चोम्फुले २ विकेट लिइन् भने सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले समान १–१ विकेट हात पारे ।
पहिलो खेलमै पराजित भए पनि नेपाल प्रतियोगितामा पुनरागमनको प्रयासमा रहनेछ । नेपालले अब आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ, जहाँ जित निकाल्दै अंक तालिकामा बलियो स्थिति बनाउने लक्ष्य नेपाली टोलीको हुनेछ ।