
काठमाडौं, माघ ३ गते ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको छ ।
पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि र ६० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष चार स्थानमा रहने क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
वज्र फाइटमा ५ तौलसमूहमा भिडन्त हुनेछ । पुरुषमा ३ र महिलामा २ स्पर्धामा खेल हुनेछ । पाँचै स्पर्धामा नगद पुरस्कार रहेको छ ।
प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।