आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ, तयारीप्रति आत्मविश्वास, पुरस्कार नपाएको गुनासो पनि सार्वजनिक

काठमाडौं,माघ ४ गते ।

भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार औपचारिक बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो ।

नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गर्ने कार्यक्रम छ । श्रीलंकामा रहँदा नेपालले कोलम्बोमा श्रीलंका ‘ए’ टोलीसँग जनवरी २०, २२ र २४ मा गरी तीन अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारतको मुम्बई जानेछ, जहाँ मुम्बई क्रिकेट एसोसिएसनको प्रेसिडेन्ट–११ टोलीसँग जनवरी २७ र २९ मा दुई ट्वान्टी–२० अभ्यास खेल खेल्ने तालिका तय भएको छ ।

विश्वकपअघि अभ्यास र खेल तालिका

विश्वकप सुरु हुनु अघि फेब्रुअरीको पहिलो साता नेपालले दुई आधिकारिक अभ्यास खेल खेल्नेछ । ती खेलको तालिका भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । विश्वकपका सबै खेल नेपालले भारतको मुम्बईमै खेल्नेछ ।

नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । इंग्ल्यान्ड र इटालीसँग भने नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेल्न लागेको हो ।

क्यान पदाधिकारीको विश्वास

टोली बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्कालगायत पदाधिकारीको उपस्थिति थियो । सचिव पारस खड्काले नेपाली टोलीबाट धेरै अपेक्षा रहेको उल्लेख गर्दै भने,
“हामीलाई हाम्रो टोली र क्षमतामाथि पूर्ण विश्वास छ ।”

अध्यक्ष चन्दले विविध कारणले विश्वकपअघि टेस्ट राष्ट्रलाई घरेलु शृंखलाका लागि निम्त्याउन नसकिएको जानकारी गराए । तर श्रीलंका ‘ए’ सँगको अभ्यास खेलले टोलीलाई राम्रो तयारी दिने विश्वास व्यक्त गर्दै उनले भने,
“तयारीलाई लिएर प्रश्न उठाउने ठाउँ छैन । खेलाडीहरूले व्यक्तिगत प्रदर्शनमा पनि ध्यान दिनुपर्छ ।”

प्रशिक्षक र कप्तानको प्रतिक्रिया

नेपाली टोलीका अस्ट्रेलियन मुख्य प्रशिक्षक स्टुवार्ट लले विश्वकप आउन तीन साता मात्र बाँकी रहँदा तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताए । कप्तान रोहित पौडेलले पनि तयारी सोचेअनुसार नै भइरहेको स्पष्ट पारे ।

“तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा गरेको अभ्यास निकै उपयोगी भयो । त्यहाँको रातो माटोको विकेट मुम्बईको विकेटसँग मिल्दोजुल्दो छ । त्यसैले हामी सबै उत्साहित छौं,” कप्तान रोहितले भने ।
उनले थपे, “सन् २०२५ हाम्रो लागि राम्रो रह्यो । अब विश्वकप खेल्दै २०२६ को सुरुआत पनि राम्रो गर्ने लक्ष्य छ ।”

नेपाली टोलीलाई ३० लाख आर्थिक सहयोग

टोली बिदाइ कार्यक्रमकै अवसरमा पूर्व सांसद एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले नेपाली क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । सेप्टेम्बरमा यूएईको शारजहाँमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखला जितेपछि उक्त रकम दिने घोषणा गरिएको थियो ।

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग पहिलो पटक खेलेको उक्त शृंखला ऐतिहासिक रूपमा २–१ ले जितेको थियो । शर्माले कप्तान रोहित पौडेललाई चेक हस्तान्तरण गर्दै विश्वकपको सुपर एटमा पुगेमा थप २० लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे । साथै उनले टोलीका खेलाडी र उनीहरूको परिवारलाई दुई वर्ष निःशुल्क उपचार सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

घोषित पुरस्कार नपाएको कप्तानको गुनासो

यसैबीच कप्तान रोहित पौडेलले ट्वान्टी–२० विश्वकपमा छनोट भएबापत घोषित सरकारी पुरस्कार अहिलेसम्म नपाएको गुनासो सार्वजनिक रूपमा व्यक्त गरेका छन् । नेपालले अक्टोबरमा ओमानमा भएको विश्वकप छनोट जित्दै तेस्रो पटक विश्वकपमा स्थान बनाएको थियो ।

नेपाल सरकारको पुरस्कार कार्यविधिअनुसार छनोट विजेता टोलीका खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । तर चार महिना बितिसक्दा पनि उक्त रकम नपाएको रोहितको भनाइ छ ।

“हाम्रो अधिकार जे छ, त्यो पाउनुपर्छ । खेलाडीलाई अहिले आवश्यक पर्ने कुरा अहिले नै दिनुपर्छ,” उनले भने, “विश्वकपअघि पुरस्कार आए मनोबल बढ्छ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।”

यसअघि सन् २०२३ मा नेपालमै भएको विश्वकप छनोटमा उपविजेता बनेको टोलीलाई सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गरेको थियो । यसपटक भने नेपालले छनोटको उपाधि नै जितेको थियो ।

सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल विश्वकपमा नजाने

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल ट्वान्टी–२० विश्वकपमा सहभागी नहुने भएका छन् । क्यान प्रवक्ता छुम्बी लामाका अनुसार मल्लले यसअघि नै विश्वकप जाने टोलीबाट नाम फिर्ता लिएका थिए ।

गत वर्षदेखि प्रशिक्षण टोलीमा रहेका मल्ल रूपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको तयारी शिविरदेखि नै टोलीसँग थिएनन् । त्यहाँ वसन्त शाहीले सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मल्ललाई फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि समानुपातिक सूचीमा राखेपछि उनले नैतिक आधारमा टोलीबाट नाम फिर्ता लिएको बताएका छन् ।

“नैतिकताका आधारमा पनि नेपाली टोलीसँग बस्न उचित नलागेपछि नाम फिर्ता लिएँ,” मल्लले बताएका छन् ।
नेपालले पहिलो पटक सन् २०१४ को विश्वकप खेल्दा मल्ल उपकप्तान थिए । सन् २००५ देखि राष्ट्रिय टोलीमा रहेका उनले २०२३ मा खेलाडी जीवनबाट संन्यास लिएका थिए ।

प्रशिक्षक टोलीमा नयाँ अनुहार

नेपालले विश्वकपका लागि अस्ट्रेलियाका पूर्व अलराउन्डर इआन हार्भीलाई बलिङ कन्सल्टेन्ट नियुक्त गरेको छ । त्यस्तै, दक्षिण अफ्रिकाका निक पोथास पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश हुने बताइएको छ ।

कप्तान रोहित पौडेलले विश्वकपमा प्रशिक्षक मल्लको अभाव महसुस हुने स्वीकार गर्दै भने,
“उहाँ प्रशिक्षक मात्र होइन, दाइ र साथीको रूपमा पनि साथ दिनुहुन्थ्यो । हामी उहाँको अनुभव मिस गर्नेछौं र नयाँ यात्राका लागि शुभकामना दिन चाहन्छौं ।”

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ