
काठमाडौं, पुस २० गते ।

जापानमा सन् १९६४ मा आयोजना भएको टोकियो ओलम्पिकमा नेपालको तर्फबाट पहिलो पटक सहभागी नेपाली टोलीका सदस्य तथा वरिष्ठ बक्सर नामसिंह थापाको ७९ वर्षको उमेरमा हङकङमा दुःखद निधन भएको छ। उहाँको निधनप्रति नेपाल ओलम्पियन्स संघले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
नेपाल ओलम्पियन्स संघद्वारा जारी शोक विज्ञप्तिमा स्वर्गीय नामसिंह थापाको निधनलाई नेपाली खेलकुद इतिहासका लागि अपूरणीय क्षति भएको उल्लेख गरिएको छ। थापा सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने पहिलो ऐतिहासिक टोलीका सदस्य हुनुहुन्थ्यो। सो ओलम्पिकमा बक्सर नामसिंह थापासँगै भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन तथा धावकद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापामगर ले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए। उक्त सहभागिता नै नेपालको पहिलो ओलम्पिक सहभागिता थियो, जसले नेपाली खेलकुद इतिहासमा नयाँ अध्यायको सुरुआत गरेको मानिन्छ।
शोक विज्ञप्तिमा उल्लेख गरिएअनुसार, टोकियो ओलम्पिकका लागि सहभागी सम्पूर्ण बक्सरहरू हङकङबाटै जापान प्रस्थान गरेका थिए। सीमित साधन र कठिन परिस्थितिका बाबजुद पनि उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउँदै देशको गौरव बढाएका थिए।
नेपाल ओलम्पियन्स संघद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम अन्तर्गत स्वर्गीय नामसिंह थापालाई सन् २०२२ जुन २१ मा काठमाडौंमा सम्पन्न पहिलो कार्यक्रममा सम्मान गरिएको थियो। त्यसैगरी, सन् २०२४ मे २ मा इटहरीमा सम्पन्न तेस्रो कार्यक्रममा पनि उहाँको उपस्थिति रहेको संघले जनाएको छ।
विशेषगरी, पहिलो पटक सम्मानित हुने क्रममा स्वर्गीय थापाले ओलम्पिकमा आफूले लगाएको ब्लेजर नेपाल ओलम्पियन्स संघमार्फत ओलम्पिक संग्रहालयलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो। उक्त कार्यलाई संघले उहाँको ओलम्पिकप्रतिको गहिरो समर्पण, इतिहासप्रतिको सम्मान र नेपाली खेलकुदप्रतिको योगदानको प्रतीकका रूपमा स्मरण गरेको छ।
नेपाल ओलम्पियन्स संघले स्वर्गीय नामसिंह थापाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उहाँको योगदान सधैं नेपाली खेलकुद इतिहासमा प्रेरणाका रूपमा अमर रहने संघले जनाएको छ।

