
काठमाडौं,पुस २० गते।
सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को खेलतालिका (ड्र) सार्वजनिक गरिएको छ। आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको आधिकारिक ‘ड्र’ सार्वजनिक गरेको हो।

यस संस्करणको महिला राष्ट्रिय लिगमा १० टोली सहभागी हुनेछन्। लिग चरणमा सबै टोलीबीच प्रतिस्पर्धा भएपछि शीर्ष ६ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सपछि उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष ४ टोली प्लेअफ चरणमा पुग्ने व्यवस्था गरिएको छ, जहाँबाट उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ।
एन्फाका अनुसार प्रतियोगिता आगामी फागुन २४ गतेदेखि सुरु हुनेछ। एन्फाको वार्षिक क्यालेन्डरअनुसार भाद्रदेखि मंसिरसम्म महिला राष्ट्रिय लिग आयोजना गर्ने योजना रहे पनि विभिन्न कारणले प्रतियोगिता पछि सरेको जनाइएको छ। ढिलाइ भए पनि लिगलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यका साथ तयारी अघि बढाइएको एन्फाले जनाएको छ।
लिगमा सहभागी हुने टोलीहरूमा न्यू रोड टिम (एनआरटी), त्रिभुवन आर्मी फुटबल क्लब, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा फुटबल क्लब र संकट फुटबल क्लब रहेका छन्।
एन्फा महिला राष्ट्रिय लिगलाई नेपाली महिला फुटबलको सबैभन्दा प्रतिष्ठित घरेलु प्रतियोगिताका रूपमा लिइन्छ। यस लिगमार्फत नयाँ खेलाडीको पहिचान हुनुका साथै राष्ट्रिय टिमका लागि खेलाडी छनोटमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। २०२५ संस्करणमा पनि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
