मेस्सीको भारत यात्रा अविस्मरणीय, वनतारामा संरक्षण कार्यको प्रशंसा

काठमाडौं, पुस २ गते ।

विश्व फुटबलका सर्वकालीन महान खेलाडी लियोनल मेस्सीले भारत भ्रमणको अन्तिम कार्यक्रमका रूपमा गुजरातको जामनगरस्थित विश्वप्रसिद्ध वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र वनतारा को अवलोकन गर्दै आफ्नो बहुप्रचारित ‘गोट इन्डिया टुर’ को औपचारिक समापन गरेका छन्।

मेस्सीको यस विशेष भ्रमणका अवसरमा भारतीय औद्योगिक घराना रिलायन्स इन्डस्ट्रिजका निर्देशक अनन्त अम्बानीले उनलाई करिब १० करोड ९० लाख भारतीय रुपैयाँ मूल्य बराबरको विश्वकै दुर्लभ घडीमध्ये एक मानिने ‘रिचर्ड मिल आरएम ००३-भी२ जीएमटी टर्बिलियन एसिया इडिसन’ घडी उपहार प्रदान गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो घडी सीमित संस्करणमा उत्पादन गरिएको अत्यन्तै विशिष्ट मोडल हो।

मंगलबार भएको भेटका क्रममा मेस्सी इन्टर मियामी क्लबका सहखेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल सँगै करिब ३ हजार एकड क्षेत्रफलमा फैलिएको वनतारा परिसर अवलोकनमा पुगेका थिए। सुरुमा घडी नलगाई आएका मेस्सी संरक्षण टोलीसँगको अन्तरक्रिया हुँदै जाँदा उक्त बहुमूल्य स्केलेटनाइज्ड घडी लगाएको देखिएका थिए, जसले उपस्थित सबैको ध्यान तानेको थियो।

विश्वभर जम्मा १२ वटा मात्र उत्पादन गरिएको ‘एसिया इडिसन’ मोडल कालो कार्बन केस, स्केलेटन डायल, टुर्बिलियन संयन्त्र र जीएमटी फङ्सनजस्ता अत्याधुनिक प्रविधिले सुसज्जित छ। उच्चस्तरीय घडी संकलकबीच अत्यन्तै लोकप्रिय मानिने यस घडीलाई संसारकै दुर्लभ घडीहरूमध्ये एकको रूपमा लिइन्छ।

वनतारामा मेस्सीको स्वागत भारतीय परम्पराअनुसार भव्य रूपमा गरिएको थियो। लोकसंगीत, आरती तथा मन्दिरमा गरिएको महाआरतीसहित उनलाई स्वागत गरिएको हो। यस क्रममा उद्धार गरिएको हात्तीको बच्चासँग बल खेल्दै गरेको मेस्सीको दृश्य सामाजिक सञ्जालमा भाइरलसमेत भएको छ, जसले विश्वभरका प्रशंसकको ध्यान तानेको छ।

यसअघि मेस्सीले आफ्नो भारत भ्रमणअन्तर्गत कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्ली सहरको भ्रमण गरिसकेका थिए। ती सबै सहरमा विभिन्न कार्यक्रम तथा भेटघाट सम्पन्न गरेपछि उनी अन्तिम कार्यक्रमका लागि जामनगर पुगेका हुन्। मेस्सीको सम्मानस्वरूप अम्बानी परिवारले उद्धार गरिएको सिंहको बच्चालाई ‘लियोनल’ नामकरण गरेको जानकारीसमेत सार्वजनिक भएको छ।

वनतारामा भइरहेको वन्यजन्तु संरक्षण, उद्धार तथा पुनःस्थापना कार्यको अवलोकनपछि मेस्सीले यस परियोजनाको खुलेर प्रशंसा गरेका छन्। उनले भारत भ्रमणलाई अविस्मरणीय अनुभव को रूपमा वर्णन गर्दै यहाँको संस्कृति, आतिथ्य र संरक्षण प्रयासले आफूलाई गहिरो प्रभाव पारेको बताएका छन्।

विश्व फुटबलका आइकन मेस्सीको भारत भ्रमणले खेलकुद, संस्कृति र संरक्षणको सन्देशलाई एकैसाथ विश्वमञ्चमा उजागर गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ