दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ अन्तर्गत चन्द्रबहादुर सेमिफाइनलमा स्थान सुरक्षित

काठमाडौं, मंसिर २४ गते ।

दुबईमा जारी आइबिए (आईबिए ) पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर चन्द्रबहादुर थापाले ऐतिहासिक प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। ५४ केजी तौल समूहअन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा उनले इरानका महेदी काजमीलाई ५–० को एकतर्फी अंकका आधारमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन्।

चन्द्रको उत्कृष्ट जितसँगै नेपालले विश्व मञ्चमा कम्तीमा एक पदक पक्का गरेको छ। सेमिफाइनल प्रवेशसँगै चन्द्रले कास्य पदक निश्चित गरेका छन् भने यस उपलब्धिसँगै उनले कम्तीमा ७५ हजार अमेरिकी डलर (एक करोड रुपैयाँभन्दा बढी) पुरस्कार राशिसमेत सुरक्षित गरेका छन्। प्रशिक्षक दीपक महर्जनका अनुसार चन्द्र फाइनलसम्म पुगेमा १ लाख ५० हजार अमेरिकी डलर र स्वर्ण पदक जितेमा ३ लाख अमेरिकी डलर पुरस्कार पाउनेछन्।

क्वाटरफाइनल खेलमा चन्द्र सुरुदेखि नै आक्रामक देखिएका थिए। पहिलो राउन्डदेखि नै उनले रिङमा नियन्त्रण कायम राख्दै इरानी खेलाडीमाथि दबाब बनाए। उत्कृष्ट फुटवर्क, सन्तुलित आक्रमण र सटीक पञ्चका कारण निर्णायकहरूले सर्वसम्मत रूपमा चन्द्रको पक्षमा फैसला सुनाएका थिए।

रोल्पा स्थायी घर भएका चन्द्रबहादुर थापा नेपाल पुलिस क्लब आबद्ध खेलाडी हुन्। उनी सुरुदेखि नै राष्ट्रिय टोलीको ‘मिसन २०२६’ तयारी टिममा रहेर प्रशिक्षण गरिरहेका छन्। प्रशिक्षक महर्जनका अनुसार चन्द्रले २०७४ सालबाट प्रतिस्पर्धात्मक रूपमा बक्सिङ खेल्न सुरु गरेका हुन्। छोटो समयमा नै उनले देखाएको प्रगति र निरन्तर मेहनतकै परिणाम आज विश्व च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा सम्भव भएको महर्जनको भनाइ छ।

चन्द्रको यो सफलताले नेपाली बक्सिङको इतिहासमा नयाँ ऊर्जा थपेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको प्रतिस्पर्धात्मक क्षमता प्रस्ट पारेको उनको प्रदर्शनलाई नेपालका खेलप्रेमीहरूले ठूलो गर्वका रूपमा लिएका छन्। अब सेमिफाइनलमा चन्द्रको आगामी प्रतिस्पर्धातर्फ सबैको ध्यान केन्द्रित भएको छ, जहाँ उनी फाइनल र सम्भावित स्वर्ण पदकको सपना पूरा गर्ने लक्ष्यसहित रिङमा उत्रनेछन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ