सुदूरपश्चिम द्वारा विराटनगरलाई दियो १५६ रनको चुनौती

काठमाडौँ, मङ्सिर २३ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको चुनौती दिएको छ । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान गरे । उनले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए ।

पूरै २० ओभर खेल्दा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको हो । उसका लागि भण्डारीको अर्धशतकसँगै शेल्डन ज्याक्सन, आशिफ शेखले समान २०/२० रन जोड्दा हरमित सिंहले १४ रन थपे । डा. इशान पाण्डेले १३ रन बनाउँदा मुख्तार अहमदले १० रन बनाए ।

विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुईदुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एकएक विकेट हात पारे । सुदूरपश्चिमविरुद्ध सन्दीप लामिछाने भने विकेट बिहीन बने ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिनुभएको थियो ।

आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्ने छ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुने छ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच भिड्ने छन् ।

पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेको सातमध्ये ६ खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो । त्यस्तै समान सात खेल नै खेलेको विराटनगरले पाँच खेल जित हासिल गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ