१३औं कोरियन एम्बेस्डर तेक्वान्दो जारी मधुसुदनले जिते स्वर्ण

काठमाडौं,मंसिर १६ गते ।
ज्ञान मन्दिर डोजाङका मधुसुदन सापकोटाले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा मंगलबार भएको ४० वर्षमाथिको उमेर समूहको व्यक्तिगत पुम्सेमा उनले स्वर्ण पदक जितेका हुन् । स्वस्तिक तेक्वान्दो डोजाङका प्रेमकुमार दर्नाल दोस्रो तथा महालक्ष्मी तेक्वान्दो डोजाङका रामकुमार श्रेष्ठ र रमन थापाले कांस्य पदकमा चित्त बुझाए ।


यसैगरी महिला ४० वर्षमाथिको एकल पुम्सेमा मकवानपुरकी निरुकुमारी मगर पहिलो, ललितपुरकी पुनम श्रेष्ठ दोस्रो र ललितपुरकै कमला गिरी शाहले तेस्रो स्थान हात पारे । यस्तै ३० वर्षमुनिको पेयर पुम्सेमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्वस्तिका तामाङ र युवराज राणा, नेपाल पुलिस क्लबका निशा दर्नाल र असिम राउत तथा एपीएफ क्लबका साकार महतरा र सञ्जना घर्तीमगर र आर्मीका लक्ष्मी सुनाखरी र रवीन्द्र थारुले क्रमशः स्वर्ण, रजत र कांस्य पदक जिते ।
पुरुष ३० वर्षमुनिको एकल पुम्सेमा आर्मीका युवराज राणा पहिलो, पुलिसका अस्मिन राउत दोस्रो, राष्ट्रिय टोलीका निर्मल पुन मगर तथा आर्मीका अस्मिन राईले तेस्रो स्थान हात पारे । १४ वर्षमुनिको महिलाको एकल पुम्सेमा गोदावरी फिटनेसकी युमी पाख्रिनले स्वर्ण, जैसीदेवल डोजाङकी सुभेक्षा गजुरेलले रजत, स्वस्तिक डोजाङकी रेजिना तामाङ र बालाजु डोजाङकी सन्ध्या प्रधानले कांस्य पदक जिते । १२ वर्षमुनिको पेयर पुम्सेमा स्वस्तिक डोजाङका सुमन तामाङ र युनिसा राना मगर, स्वस्तिककै अर्लिना चौधरी र पउलसन दर्नाल, स्वस्तिककै लक्ष्मी न्यौपाने र उर्गेन तामाङ तथा श्री सिद्धार्थ डोजाङका ओसन गुरुङ र निमिसा भुजेलले क्रमशः स्वर्ण, रजत र कांस्य पदक प्राप्त गरे ।
मंसिर २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ