त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल इन्डोनेसियासँग खेल्न तयार

blog

खेलअघि आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेपाली टोलीका प्रशिक्षक र कप्तान ।

काठमाडौँ, मङ्सिर ९ गते ।
त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले बुधबार घरेलु टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, इन्डोनेसिया र चाइनिज ताईपेइ सम्मिलित यो प्रतियोगिता नेपाली महिलातर्फको राष्ट्रिय फुटबल टिमका लागि आगामी प्रतियोगिताहरूका तयारी र आफ्नो स्तर मापन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले टोली पूर्ण रूपमा तयार रहेको विश्वास व्यक्त गर्नुभयो। ‘‘घरेलु टोलीसँग खेल्नु चुनौतीपूर्ण हुन्छ। तर नेपाल कडा टक्कर दिन तयार छ,’’ न्यौपानेले भन्नुभयो। उहाँका अनुसार छोटो तयारी भएर पनि टोलीमा निरन्तर खेलमा सक्रिय खेलाडी रहेका कारण प्रदर्शनमा यसको असर नपर्नेछ।

नेपाली टोलीका कप्तान एन्जिला सुब्बाले पनि पछिल्लो समय नेपालले धेरै अन्तर्राष्ट्रिय खेल खेलिरहेकोले खेलाडीको अनुभव बढेको बताइन्। ‘‘हामी आत्मविश्वासका साथ मैदानमा उत्रनेछौँ,’’ कप्तान एन्जिलाले भनिन्।

तर यसपटक नेपाल प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ तथा सविता रानामगरबिनै मैदानमा उत्रिँदैछ। साम्बाको अनुपस्थिति विशेष रूपमा महसुस हुने प्रशिक्षक न्यौपानेको स्वीकारोक्ति छ। यसअघि उहाँले साम्बाबिनाको नेपाल, लियोनल मेस्सीबिनाको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल जस्तै हुने तुलना गर्नुभएको थियो।

फिफा टियरअन्तर्गत आयोजना गरिएको यो प्रतियोगितालाई नेपालले आगामी महिला साफ च्याम्पियनसिपको तयारीको रूपमा पनि लिएको छ।
इन्डोनेसिया र चाइनिज ताईपेइका प्रशिक्षक तथा कप्तानहरूले समेत उत्कृष्ट खेल प्रस्तुत गर्ने दाबी गरेका छन्।

नेपालले प्रतियोगितामा दोस्रो खेल डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग खेल्नेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ