भारतमा जारी दृष्टिविहीन (ब्लाइन्ड) महिला टी–२० विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौँ, कात्तिक २६ गते ।
भारतमा जारी दृष्टिविहीन (ब्लाइन्ड) महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई एक पक्षीय रूपमा नौ विकेटले पराजित गरेको हो।

श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले मात्र ५.२ ओभरमै एक विकेटको क्षतिमा सजिलै पूरा गर्दै बलियो सुरुवात गरेको हो।

नेपालका लागि ओपनर मनकेसी चौधरी चम्किनुभयो। उहाँले २२ बलमा अविजित ६१ रनको आतङ्कजनक पारी खेल्दै टोलीलाई सहज जित दिलाउनुभयो। चौधरीको पारीमा ११ चौका समावेश थियो। साथै विनीता पुनले १३ रन र सुस्मा तामाङले अविजित ४ रनको योगदान दिनुभयो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन मात्र जोड्न सक्यो। श्रीलङ्काका लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाइन् भने सान्दुनी सौमायाले १३ रनको साथ दिए। बाँकी खेलाडीहरू नेपालका कडा बलिङ आक्रमण अगाडि टिकी रहन सकेनन्।

बलिङतर्फ नेपालकी कान्ती योगीले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिनुभयो। विनीता पुन र लक्ष्मी लामाले एक–एक विकेट हात पारे। आक्रमक ब्याटिङका लागि मनकेसी चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो।

नेपालले अब दोस्रो खेल शुक्रबार आयोजक भारतसँग खेल्नेछ।
यो विश्वकप दृष्टिविहीन महिलाहरूबीच पहिलो पटक आयोजना गरिएको टी–२० प्रतियोगिता हो। प्रतियोगितामा नेपालसँगै भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङ्ल्यान्डले सहभागिता जनाएका छन्।

नेपालको यो विजयी सुरुवातले टोलीको आत्मबल बढाएको छ र विश्वकपको यात्रामा नयाँ आशा जगाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ