
काठमाडौं, कात्तिक २१ गते ।

कर्णाली याक्स स्पोर्ट्स प्रा.लि. ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी यात्रा सम्पन्न गरेको छ। यात्राले प्रदेशभर क्रिकेटप्रतिको उत्साह र स्थानीय पहिचान दुवैलाई जोड दिएको छ।
कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसिएसनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजार हुँदै ट्रफी यात्रा सुरु गरेको थियो। त्यसपछि दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारमा विशेष कार्यक्रमसहित ट्रफी प्रदर्शनी गरिएको र विरेन्द्रनगर परिक्रमा गरिएको थियो।
सो अवसरमा हजारौं विद्यार्थी र स्थानीयबासीले ट्रफी नजिकैबाट अवलोकन गरेका थिए।
तीन दिने यात्राको अन्तिम दिन (बिहीबार) प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा ट्रफी पु¥याई सुदूरपश्चिम प्रदेशतर्फ पठाइएको थियो। कार्यक्रमका क्रममा स्थानीय निकायका जनप्रतिनिधि, युवाहरू र खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
बुधबार काँक्रेविहारमा आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफीको औपचारिक अनावरण गरेका थिए।
ट्रफी यात्रामा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिस्ट रवि थापा, तथा खेलाडीहरू विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी थिए।
पहिलो संस्करण (मंसिर १५ देखि पुस ६, २०८१) मा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गर्दै उल्लेखनीय प्रदर्शन गरेको थियो।
जितसँगै विकासमा योगदान
कर्णाली याक्सले आगामी प्रतियोगितामा जित्ने प्रत्येक खेलमा कर्णाली प्रदेश क्रिकेट संघलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ।
कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले सुर्खेतमा आयोजित कार्यक्रममा जानकारी दिँदै भने,
“एसियस पेन्ट्सले कर्णाली याक्सका जितसँगै प्रदेशको क्रिकेट विकासका लागि प्रतिजीत एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।”
यो योजनाले स्थानीय क्रिकेट संरचना सुदृढ गर्ने र जमीनी तहमा प्रतिभा विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
